रुपन्देही- अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न भन्दै रुपन्देही प्रहरीले संचालन गरेको ‘क्लिन स्विप अप्रेशन’ अभियानबाट चोरी, लागूऔषध प्रयोग तथा ओसारपसारकर्ता र फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । २४ सै घण्टा जिल्लाभर रहेका कार्यालयबाट छुट्टाछुट्टै प्रहरी टोली ‘क्लिन स्विप अप्रेशन’मा खटिएका छन् । यसरी खटिने प्रहरी टोलीले अपराधिक तथा कानूनले बन्देज गरेका गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिने गरेको छ ।
पुस १ गतेदेखि रुपन्देही प्रहरीले ‘क्लिन स्विप अप्रेशन’ सुरु गरेको थियो । बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले अभियान सुरु गरेको डेढ हप्तामै कयौं चोरीका मोटरसाइकल, त्यसमा संलग्न मानिस, फरार प्रतिवादी र लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको जनाए । एसपी बिकका अनुसार यो बीचमा चोरीका २३ वटा मोटरसाइकल पक्राउ गरिएको छ भने त्यसमा संलग्न ८ जना मानिस समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।



पक्राउ परेकाहरुविरुद्ध चोरीसम्बन्धी ४ वटा मुद्दा अदालतमा दर्ता समेत भएका छन् । प्रहरीले रोयल इनफिल्ड–२, बजाज पल्सर १५० सिसीको १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० सीसीको ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ मोटरसाइकल बरामद गरिएको जनाएको छ ।
‘मोटरसाइकल चोरी गरी कतिपय भारत तर्फ विक्री गर्ने र केही नेपालमै विक्री गर्ने गरिएको छ । एसपी बिकले अब अभियानका क्रममा प्रहरीले चोरीका मोटरसाइकल घरमै गएर मानिस र मोटरसाइकल पक्राउ गरेर ल्याउने जनाए ।
यस्तै, अभियानकै क्रममा प्रहरीले एउटै इन्जिन नम्बर भएका दुईवटा कार नियन्त्रणमा लिएर पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले अभियानका क्रममा ४३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर, ६ एम्पुल डाइजेजाम, ६८ एम्पुल फेनार्गन, ८ एम्पुल तालजेसिक, ५९ एम्पुल सेरिज्याक, आईपीपीएल ६० एम्पुल, प्रोक्सीको स्पास १६ क्याप्सुल बरामद गरेको छ ।



