काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भट्ट पक्राउ परेका छन् ।
काफ्ले हराएको तीन सातामा पनि कुनै क्लु फेला नपरेपछि प्रहरीले शंकास्पद व्यक्तिका रुपमा उनका श्रीमान् भट्टलाई राखेको थियो । प्रहरीले भट्टलाई पक्राउ गरेपछि एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । ममता गत साउन १२ (जुलाई २७) देखि हराएकी थिइन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।



प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ ।



