अमेरिकामा सन् २०२६ को अक्टोबर १५ सम्म विद्यालय तथा कलेज परिसरमा गोली चलाइएका कम्तीमा ५२ घटना भएका छन्। ती घटनामा ३२ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन्। सीएनएनले ‘गन भायलेन्स आर्काइभ’, ‘एजुकेसन विक’ र ‘एभरिटाउन फर गन सेफ्टी’का तथ्याङ्क विश्लेषण गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो। यस वर्ष भएका घटनामध्ये १६ वटा कलेज परिसरमा र ३६ वटा विद्यालय परिसरमा भएका छन्।

सीएनएनका अनुसार सन् २०२३ मा अमेरिकामा विद्यालय परिसरमा गोली चलाइएका ८४ घटना भएका थिए। सन् २००८ देखि तथ्याङ्क राख्न थालिएयताकै यो सबैभन्दा ठूलो सङ्ख्या हो। त्यस्तै, सन् २०२२ मा विद्यालयमा भएका गोलीकाण्डमा ४८ जनाको मृत्यु भएको थियो।

कुल घटनाको सङ्ख्याका आधारमा टेक्सस राज्य सबैभन्दा अगाडि छ। सन् २००८ यता त्यहाँ विद्यालय परिसरमा कम्तीमा ७१ वटा गोलीकाण्ड भएका छन्। यस अवधिमा मोन्टाना, वायोमिङ, न्यु ह्याम्पसायर र भर्मन्टमा भने विद्यालयमा गोलीकाण्डका घटना अभिलेख नभएको विश्लेषणमा उल्लेख छ। अमेरिकामा विद्यालय तथा कलेजमा हुने गोलीकाण्डले विद्यार्थी र शिक्षकको सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै आएको छ। बारम्बार हुने यस्ता घटनापछि बन्दुकसम्बन्धी कानुन, विद्यालयको सुरक्षा व्यवस्था र बन्दुक हिंसा नियन्त्रणका उपायबारे बहस जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय