काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी दिनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युर्योक जान लागेका र त्यहाँबाटै असोज ५ गते चीनको औपचारिक भ्रमणमा जानेबारे जानकारी दिनु भएको हो ।
प्रधानमन्त्री दाहालले राष्ट्रसंघमा ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर साझा समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गर्ने पनि बताउनु भयो । महासभामा नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास तथा समुन्नत नेपाल निर्माणको प्रयासलाई आफूले मुखरित गर्ने प्रधानमन्त्रीको भनाइ छ । आफू दिगो विकास, जलवायु परिर्वतन र स्वास्थ्य चुनौती लक्ष्य हासिल गर्न वित्तीय प्रवद्र्धनका विषयहरू गहन रूपमा साइड लाइनमा हुने बैठकमा सहभागी हुने पनि जानकारी दिनुभयो ।



यसैगरी संसदलाई जानकारी क्रममा प्रधानमन्त्री दाहालले सुन प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभयो । सिआइबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेकाले पूर्व सहमति अनुसार आयोग गठन प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनु भयो । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई गम्भीर रुपमा लिएर कारबाही प्रक्रिया अघि बढेको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल भोलि भदौ ३० गते न्यूयोर्क जाँदै हुनुहुन्छ ।
यसैबीच, प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेका अनुसार प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।



