अवैध रुपमा रासायनिक मल ओसारपरा गरेको आरोपमा बागलुङमा तीन जना पक्राउ परेका छन् । बागलुङ बजारमा आएको मल पर्साको विरगञ्ज पठाएको आरोपमा बागलुङ नगरपालिका–१ का ७७ वर्षीय केबी राना (कुलबहादुर), सोही ठाउँका ५३ वर्षीय दिनेश पण्डित कुम्हार र बागलुङ नगरपालिका–३ का ५२ वर्षीय विनय शाक्य पक्राउ परेका हुन् ।
अवैध रूपमा बागलुङबाट विरगञ्ज लैजान लागेको ७५० किलो युरिया मल बरामदसमेत गरेको जिल्ला प्रहरी कार्यलय बागलुङको प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए । प्रसाइँका अनुसार बागलुङ नगरपालिका–२ स्थित धौलागिरी बीउ भण्डार पसलबाट ५० किलोका चार बोर मल विरगञ्ज पठाउन थालेको सूचनाको आधारमा पसल संचालक रानालाई पक्राउ गरेको हो ।
बागलुङ नगरपालिका–३ शिवधाराचोकस्थित कालीगण्डकी पसलबाट युरिया मल खरिद गरी विरगञ्जतर्फ पठाउन थालेको सूचनाको आधारमा शाक्यलाई पक्राउ गरिएको उनको भनाइ छ । पण्डित बागलुङ बजारबाट मल विरगञ्ज पठउने काममा संलग्न भएको हुँदा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रसाइँले बताए ।



पक्राउ परेका तीन जनालाई कालोबार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुरमा जिलला प्रशासन कार्यालय बागलुङबाट ६ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको उनले बताए ।



