ललितपुर — जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास पुनर्निर्माणपछि विस्तारै पुरानै स्वरूपमा फर्किन थालेको छ। सोमबार सार्वजनिक तस्बिरमा रङ्गरोगन तथा मर्मतपछि मन्त्री निवासका भवनहरू पहिलेकै स्वरूपमा देखिएका छन्। भैंसेपाटीस्थित सरकारी आवास परिसरमा संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि आवास निर्माण गरिएको थियो। परिसरमा रहेका २७ वटा भवनमध्ये जेनजी आन्दोलनका क्रममा २६ वटा भवनमा आगजनी तथा तोडफोडबाट क्षति पुगेको थियो। रक्षामन्त्रीका लागि छुट्याइएको एउटा भवनमा भने तुलनात्मक रूपमा कम क्षति पुगेकाले मर्मत र रङ्गरोगनपछि प्रयोगमा ल्याइएको थियो।

भैंसेपाटीको मन्त्री निवास निर्माण सम्पन्न हुनुअघि लामो समयसम्म मन्त्रीहरूको सरकारी आवास ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा थियो। पुल्चोकको आवास साँघुरो तथा जीर्ण भएपछि सरकारले नयाँ र सुविधासम्पन्न आवास निर्माण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले २०७५ मंसिर १७ गते भैंसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा संघीय मन्त्रीका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो। निर्माण कार्य २०७६ सालमा सुरु भएको थियो।

करिब ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएको भैंसेपाटी परिसरमा संघीय मन्त्रीका लागि २४ वटा आवासीय भवन तथा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि एक–एक भवन बनाइएको थियो। परिसरमा सुरक्षा संरचना, हेल्थ क्लब, कम्युनिटी हल, पार्किङलगायतका पूर्वाधारसमेत राखिएको थियो।

नयाँ आवास निर्माणमा सरकारको ठूलो लगानी भएको थियो। विभिन्न चरणमा बजेट थपिँदै जाँदा आयोजनाको कुल लागत करिब ३ अर्ब रुपैयाँ पुगेको विवरण सार्वजनिक भएको छ। निर्माण सम्पन्न भएपछि २०८१ सालदेखि मन्त्रीहरू भैंसेपाटीस्थित नयाँ आवासमा सर्न थालेका थिए। तर प्रयोगमा आएको करिब एक वर्ष नपुग्दै जेनजी आन्दोलनका क्रममा मन्त्री निवास परिसरमा ठूलो क्षति पुग्यो। आगजनीपछि अधिकांश भवन प्रयोग गर्न नसकिने अवस्थामा पुगेका थिए। त्यसपछि मन्त्रीहरूका लागि वैकल्पिक आवासको व्यवस्था गर्नुपर्ने अवस्था आएको थियो।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अहिले प्राथमिकताका साथ अघि बढाइएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार क्षतिग्रस्त भवनमध्ये केहीको पुनर्निर्माण प्रक्रिया अघि बढिसकेको छ भने अन्य भवनका लागि समेत ठेक्का तथा पुनर्स्थापनाको काम अघि बढाइएको छ। पुनर्निर्माणसँगै भवनमा विद्युत्, पानी, भित्री सजावट र रङ्गरोगनको कामसमेत भइरहेको छ। केही भवन पूर्ण रूपमा मर्मत भएपछि पुनः प्रयोगमा ल्याउने तयारी गरिएको छ। यस क्रममा रक्षामन्त्रीका लागि प्रयोग भएको भवन मर्मत र रङ्गरोगनपछि पुनः सञ्चालनमा आएको छ।

भैंसेपाटीको मन्त्री निवास तत्कालीन समयमा आधुनिक सुविधा र नेपाली मौलिक वास्तुशैलीलाई समेटेर निर्माण गरिएको थियो। भवनहरूमा परम्परागत नेपाली शैली झल्काउने डिजाइन प्रयोग गरिएको थियो। प्रत्येक आवासमा बैठक कक्ष, प्रतीक्षालय, निजी आवास तथा अतिथि कक्षलगायतका संरचना निर्माण गरिएको थियो। यसरी ठूलो लगानीमा निर्माण भएको मन्त्री निवास प्रयोगमा आएको छोटो समयमै क्षतिग्रस्त भएपछि पुनर्निर्माणमा फेरि ठूलो स्रोत खर्च भइरहेको छ। अहिले रङ्गरोगनपछि पुरानै स्वरूपमा फर्किन थालेका भवनहरूले भने भैंसेपाटी परिसरलाई विस्तारै नयाँ रूप दिन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय