काठमाडौं । आज असार १५, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिन्छ । आजको दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाउन लागिएको कृषि विभागले जनाएको छ ।
यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिएको छ ।
रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ ।




कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो । विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आर्थिक सर्वेक्षण अनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ ।



