काठमाडौं । हमासको आक्रमणमा दुई वर्षअघि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव फेला परेपछि देश शोकमा छ । जोशीको पार्थिव शरीर कहिले नेपाल आउला भन्ने चासो छ । यसैबीच इजरायली विदेश मन्त्रालयले जोशीको विशेष समारोहका साथ अन्त्येष्टि गर्ने र परिवारलाई आफ्ना नागरिकसरह अधिकार र सुविधा प्रदान गर्ने घोषणा गरेको छ । विपिनको परिवारले कस्ता सुविधा पाउनेछन् ?

सन् २०२३ अक्टोबर ७ – इजरायलको दक्षिणी सीमानामा जब हमासका लडाकूहरूले निर्दोष नागरिकमाथि आक्रमण गरे, संसारले आतङ्कको सबैभन्दा भयावह दृश्य देख्यो । हजारौं ज्यान गुमे, सयौं घर उजाडिए । त्यही दिन, कृषि तालिमका लागि इजरायल पुगेका १७ नेपाली विद्यार्थीहरूमध्ये १० जना निर्दयतापूर्वक मारिए । बाँकीमध्ये एक थिए कञ्चनपुरका २३ वर्षीय विपिन जोशी । जसले आफ्नो साहसिक कदमले दर्जनौंको ज्यान बचाए ।

किबुत्ज अलुमिमको सुरक्षित कोठामा लुकेका विपिनले जब हमासका लडाकूहरूले फ्याँकेको ग्रेनेड समाते र फ्याँकेर अरूलाई बचाए, उनी नायक बने । तर, त्यो वीरता उनको अन्तिम क्षण सावित भयो । उनी बन्दी बनाइए । र दुई वर्षपछि मात्र उनको मृत्युको पुष्टि भयो । गत सोमबार हमासले युद्धविराम सम्झौताअन्तर्गत चार बन्धकका शव इजरायललाई हस्तान्तरण गर्यो । डीएनए परीक्षणपछि इजरायली सेनाले विपिन जोशीको मृत्यु भएको पुष्टि गर्यो । इजरायलले मंगलबार विपिनको परिवारलाई हत्या भएका इजरायली नागरिकका परिवारलाई जस्तै सम्पूर्ण अधिकार र हेरचाह प्रदान गर्ने घोषणा गरेको छ ।

विपिनको परिवारले कस्ता सुविधा पाउनेछन् ?

इजरायलका विदेश मन्त्रालयका महानिर्देशक एडेन बार–तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईसँग कुरा गर्दै इजरायलको तर्फबाट शोक प्रकट गर्दै गरेको घोषणा अनुसार (इजरायली बीमा संस्था (बिटुआच लेउमी) मार्फत दीर्घकालीन सहायता दिइनेछ । यसमा मासिक पेन्सन ५,०००–१०,००० शेकेल अर्थात् नेपाली २ लाख १४ हजारदेखि ४ लाख २८ हजार, एकमुष्ट क्षतिपूर्ति, स्वास्थ्य सेवा, मनोवैज्ञानिक परामर्श र बालबालिकाका लागि निःशुल्क शिक्षा तथा व्यावसायिक तालिम समावेश हुन्छ । रोजगारीका लागि विशेष अनुदान पनि दिइन्छ ।) विपिनको परिवारलाई यिनै सुविधा र सम्मान उपलब्ध गराइनेछ । साथै, इजरायल सरकारले उनको पार्थिव शरीरलाई सम्मानपूर्वक नेपाल पठाउने र आगमनमा विशेष स्मरण समारोह आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल र इजरायलबीच ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत हजारौं नेपाली युवाले रोजगारी र सीपका अवसर पाएका छन् । विपिन त्यही कार्यक्रमका सहभागी थिए, जसले सीप सिक्दै जीवन बनाउने सपना बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय