काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसदको दुबै सदनको बैठक अवरुद्ध गरेको छ । एक सय किलो सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले दुबै सदनको बैठक अवरुद्ध गरेको हो । एमालेले गत साउत १० गतेदेखि प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध पार्दै आएको छ ।
साउन दुई गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभागले गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठन गर्न संसद्मा अवरोध गरेर दबाब दिइरहेको छ ।



प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आग्रह गरेपनि एमालेका सांसद सूर्य थापाले गृहमन्त्रीको जवाफ तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताए । त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेपछि सभामुख देवराज घिमिरेले साउन २६ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।



