काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप लगाउँदै राजीनामा नआएसम्म बैठक चल्न नदिने बताउँदै आफ्नो स्थानबाट उठेपछि बैठक स्थगित भएको हो । अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि एमालेका सांसदहरुले नमानेपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउनु भएको हो ।
असार २५ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र २६ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।






