काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जेठ १६ र १७ गते पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ ।
राष्ट्रिय भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।आइतबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रले पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो । भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषयमा चर्चा र महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ । भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी लगायतको सहभागीता रहने छ ।नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै सन्दर्भमा भेलाको आयोजना गर्न लागिएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।






