काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताएका हुन् ।
अध्यक्ष शर्माले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएकोले कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीको गुणस्तर खस्किने बताए । एसईई हटाउँदा विद्यार्थीहरूले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको अध्यक्ष शर्माको भनाइ छ ।



शर्माले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरीकन प्रदेश तहले गर्नसक्ने सुझाव दिएका छन् । शर्माले कोभिड–१९ को महामारीपछि कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखेको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भइराखेको बताए । कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तीर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने शर्माको जिकिर छ ।



