काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए लाई पराजित गरेको छ । पि सारा ओभल कोलोम्बोमा भएको खेलमा कुशल भुर्तेलको ६ विकेट तथा अर्धशतकको सहयोगमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा र देव खनालले समान २४÷२४ रन बनाए ।




युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरीसकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल जुलाई २३ मा हुनेछ ।



