काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताए । मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताएका हुन् । शान्ति खलबल्याउने कुरो असल मनसायले नहुने भन्दै यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितनगर्ने ओलीको भनाइ छ । साम्प्रदायिक विद्वेष भड्काउने कुरो कुनै पनि हिसाबले गलत मनसायका साथ नै हुने गरेको भन्दै यो देशका लागि, जनताका लागि, स्थानीय समुदायका लागि, कसैका लागि पनि, कुनै हिसाबले पनि हितकर होइन अध्यक्ष ओलीले भने ।



केहि तत्वले आफ्ना गलत अभिष्ट पूरा गर्न खोजेको तर नेपाली जनता त्यस्तो नराम्रो कुरातिर नलाग्ने उनले बिस्वास ब्यक्त गरे । ओलीले कोशी प्रदेशमा मध्यवाधिको संकट टार्नका लागि मिलेर जान दलहरुलाई आग्रहसमेत गरे । संविधानको धारा १६८ को (३) अनुसार बनेको एमाले नेतृत्वको वर्तमान सरकारले विश्वासको मत नपाए उपधारा (५) मा जाँदा अनिश्चिततातिर जाने जोखिम हुने उनले बताए ।



