काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार मौका परीक्षामा ७१ हजार ३ सय १० विद्यार्थी सहभागी भएकामध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा न्यूनतम आवश्यक ग्रेड प्राप्त गरेका छन् । यो कुल सहभागीको ८१.१९ प्रतिशत हो ।



बोर्डले तीन जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको जनाएको छ । नतिजा प्रकाशनका क्रममा प्राविधिक त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयमा रहेको आधिकारिक अभिलेखका आधारमा आवश्यक सच्याइ गरिने पनि बोर्डले जनाएको छ ।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर सेवामार्फत हेर्न सक्नेछन् ।
बोर्डले कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते संचालन गरेको थियो । यो परीक्षा नियमित परीक्षामा एक वा दुई विषयमा उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई अर्को अवसर प्रदान गर्ने उद्देश्यले संचालन गरिएको हो ।



