काठमाडौं । एमालेको नेतृत्वमा सरकार बनाउन कांग्रेस सहमत भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन् । सोमबार मध्यरातमा दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने सहमतिअनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।
ओली पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बन्नुभएको थियो । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उहाँले त्यतिबेला १० महिना सरकार संचालन गर्नुभएको थियो । ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिनुभएको थियो । ०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । झन्डै दुईतिहाइनजिकको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री बन्नुभयो । त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरिएको थियो । ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो तर, आलोपालोको सहमति कार्यान्वयन नभएपछि नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गर्दै चुनाव घोषणा गर्नुभयो । तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुर्नस्थापना गरिदियो । लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला गर्यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाउनु भयो ।



ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुभयो । कुनै पनि दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गर्नुभयो । तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गर्नुभयो । त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा पर्यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्यो । ओली यतिखेर दुई महिना प्रधानमन्त्री भएका थिए ।



