काठमाडौँ – निःशुल्क सीपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८ सय ६६ जनाको आवेदन दिएका छन् । यसमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सीप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन् ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ । आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउने योजना छ । यो तालिम पनि निःशुल्क हुने महानगरले जनाएको छ ।



‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २ सय ६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८ सय ८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६ सय ९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए । बाँकीले अन्य विभिन्न विषयका आवेदन दिएका थिए ।



