काठमाडौं । दक्षिणकाली नगरपालिका ईखापोखरीमा दलित समुदायको जीवन्त संग्रहालय भवन शिलान्यास भएको छ । समारोहमा बागमती प्रदेशका पूर्व पर्यटन मन्त्री पुकार महर्जनले दक्षिणकाली नगरपालिका वडा नं. ५ मा निर्माण हुन लागेको संग्रहालय दलित समुदायको इतिहास, संघर्ष र संस्कृतिलाई ऊजागर गर्ने दाबी गर्नुभयो । उहाँले स्थानीय सरकार तथा समुदायको सहकार्यमा संग्रहालयको निर्माण कार्य चाँडो सम्पन्न गर्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले संग्रहालय निर्माणको मुध्य उद्देश्य दलित समुदायले विगतमा समाजबाट भोग्दै आएको शोषण, दमन र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको बताउनु भयो । उहाँले संग्रहालयमा दलित समुदायका पुर्खाले आर्जित परम्परागत सीप र कलालाई जीवन्त राख्न संग्रहालयको ठूलो महत्व रहने र यसलाई अध्ययन, अनुसन्धान तथा अवलोकन केन्द्रको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आम्दानीको स्रोत पनि बलियो बनाउन सक्नु पर्ने बताउनु भयो । प्रमुख बस्नेतले संग्रहालयलाई पूर्णता दिन साढे ४ करोड बजेट लाग्ने भएपनि सुरुवाती चरणमा बागमती प्रदेशले १० लाख र स्थानीय सरकारले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले संग्रहालय सम्पन्न गर्नको लागि तीनै तहको सरकार लागि पर्ने पनि बताउनु भयो ।

यस्तै समता समाजका अध्यक्ष श्याम कुमार मंग्रान्तीले दलित समुदायको जीवन्त संग्रहालय भवन काठमाडौंमा पहिलो भएकोले यो आफैमा ऐतिहासिक कार्यको शुभारम्भ भएको दाबी गर्नुभयो । उहाँले दलित समुदायकै गौरब जीवन्त संग्रहालयलाई पूर्णता दिनु सबैको दायित्व भएकोले अभियान सफल पार्न एकताबद्ध भएर लाग्नुपर्ने सुझाव पनि दिनुभयो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, समाजिक अभियान्ता दिनेश कुमार परियार, समाजसेवी दिलिप कुमार नेपाली, विभिन्न संघ–संस्था तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय