काठमाडौं । काठमाडौं महानगरले बेरोजगार नागरिकलाई श्रम बैंकमार्फत् रोजगारसँग जोड्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै बेरोजगार नागरिकलाई श्रम बैंकमा जोडिन आग्रह गरेको हो ।
सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन श्रम बैंकको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण सम्बन्धमा महानगरलाई आवश्यक पर्ने श्रम शक्तिको आपूर्तिलाई निरन्तरता दिन श्रम बैंक सञ्चालन गर्न लागिएको पनि महानगरद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।



श्रम-बैंकमा-आबध्द-हुने-बारेको-सूचना
योजना सञ्चालनसँगै बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ । यसबाट श्रम संस्कृतिको विकास हुने तथा रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्धत गर्ने महानगरले जनाएको छ । महानगरले चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति ल्याएको थियो ।



