काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज भारतको सामाना गर्दैछ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने खेलमा नेपालले भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको छ ।
नेपालले आफ्नो पहिलो खेल कीर्गिस्तान र दोस्रो खेल बंगलादेशसँग खेलेको थियो । दुवै खेल नेपालले जितेसँगै नेपाल समूह ए बाट अन्तिम चारमा पुगेको छ । भारत पनि दुई खेल जित्दै सेमीफाइनल पुगेको छ ।



दुई खेल जितेको नेपालले आजको खेलमा भारतलाई हराएर समूह विजेता बन्ने दाउँमा छ भने घरेलु टोली नेपाललाई हराएर भारत पनि समूह विजेता बन्न चाहन्छ । नेपाल र भारतबीचको खेल दिउँसो तीन बजेदेखि सुरु हुनेछ भने बंगलादेश र कीर्गिस्तान समूह चरणबाटै बाहिरिसकेको छ ।
यसैगरी समूह बी मा रहेको कजाकस्तान र उज्वेकिस्तान अन्तिम चारमा आफ्नो स्थान पक्का गरिसकेका छन् । आज नै यी दुई देशबीच प्रतिस्पर्धा हुँदैछ । यससँगै श्रीलंका र माल्दिभ्सबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।



