काठमाडौं । चन्द्रागिरि नगरपालिका–१, सिर्जना चोकस्थित किड्स सिटी मन्टेश्वरीले साना नानीहरूको उज्ज्वल भविष्यतर्फको पहिलो पाइला सफलतापूर्वक पूरा गरेको अवसरमा भव्य तथा भावनात्मक ग्रयाजुयसन सेरोमोनी सम्पन्न गरेको छ । विद्यालय स्थापनाकालमा भर्ना भएका नानीहरूको औपचारिक विदाइसँगै आयोजना गरिएको उक्त कार्यक्रमले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूको मन छोएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरि नगरपालिकाका सामाजिक शाखा संयोजक घनश्याम लुईटेलले किड्स सिटी मन्टेश्वरीले बालशिक्षामा देखाएको समर्पण र गुणस्तरको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नगरभित्र सञ्चालित अन्य मन्टेश्वरी विद्यालयहरूको तुलनामा किड्स सिटीले भौतिक पूर्वाधार, सुरक्षित वातावरण, बालमैत्री शिक्षण विधि तथा समग्र सेवामा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा चन्द्रागिरि नगरपालिका ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने तयारीमा रहेको जानकारी दिँदै नगरभित्रका सबै विद्यालयहरूलाई गुणस्तरमा अझ कडाइ गरिने संकेत गर्नुभयो । यस सन्दर्भमा किड्स सिटी जस्ता संस्थाले अन्य विद्यालयका लागि प्रेरणादायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षकहरू भावुक बनेका थिए । उनीहरूले सुरुवाती दिनहरूमा राम्रोसँग बोल्न र हिँड्न समेत नसक्ने नानीहरूलाई आज आत्मविश्वासी, अनुशासित र सक्षम बनाउँदै अर्को शैक्षिक यात्रातर्फ पठाउन पाउँदा गर्वसँगै विदाइको पीडा पनि महसुस भएको बताएका थिए ।

ग्रयाजुयसन सेरोमोनी अन्तर्गत १० जना विद्यार्थीलाई औपचारिक रूपमा विदाइ गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक नृत्य तथा सांस्कृतिक झलकहरूले ग्रयाजुयसन सेरोमोनीलाई थप जीवन्त बनाएको थियो । साथै विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी अझै उनीहरूको हौसला बढाएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका शिक्षा शाखाका प्रमुख बुद्धिप्रसाद भट्ट, अभिभावक, स्थानीयबासी तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी अभिभावकहरूले विद्यालयको अनुशासन, शिक्षण शैली र बालमैत्री वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै आफ्ना बालबालिकाको उज्ज्वल भविष्यप्रति आशावादी देखिएका थिए ।

किड्स सिटी मन्टेश्वरीले साना बालबालिकाको समग्र विकास—शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक पक्षलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । आधुनिक सुविधा, अनुभवी शिक्षक टोली र बालमैत्री वातावरणका कारण यो विद्यालय अभिभावकहरूको रोजाइमा पर्न थालेको देखिन्छ ।

बालबालिकाको उज्ज्वल भविष्यको आधार तयार गर्ने यस्ता कार्यक्रमहरूले किड्स सिटीलाई केवल विद्यालय मात्र नभई भरोसा योग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय