केन्द्रीय राजनीति उथलपुथल भएसँगै प्रदेशमा पनि असर परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको एलाइन्स तोडेर नेकपा एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएसँगै सातै प्रदेशमा पुनः सरकार फेरबदल हुने निश्चित छ । प्रधानमन्त्रीले २१ मन्त्रीको जिम्मेवारी खोसी आफैले लिएपछि प्रदेशमा पनि मन्त्रीहरुलाई बर्खास्त गर्ने र मन्त्रीहरुले राजीनामा दिने क्रम बढेको छ ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री भएका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । कांग्रेसबाट सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्त्री कृष्णकुमार बिसी र अर्थमन्त्री वेदराज सिंहले राजीनामा दिएका हुन् ।




यसैगरी सुदूरपश्चिम प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भई एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले उद्योग पयर्टन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, सामाजिक विकासमन्त्री झपट साउद र राज्यमन्त्री गीतादेवी माल बर्खास्त परेका हुन् । नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री भने यथावत रहेका छन् ।
प्रदेशमा नेपाली कांग्रेस १८, माओवादी केन्द्र ११, एमाले १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १, स्वतन्त्र १ सांसद छन् भने एउटा सिट रिक्त रहेको छ ।



