काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्गको एक तिहाइभन्दा बढी काम सम्पन्न भइसक्दा पनि काठमाडौंको प्रस्थान विन्दु ललितपुरको खोकनाको विवाद अझै टुंगिएको छैन ।
खोकनाको विवाद टुङ्गो नलाग्दा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएको यो द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटरमध्ये ६.५ किलोमिटर खण्डमा अझै ठेक्का व्यवस्थापन हुन सकेको छैन ।



निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले यो आयोजनाको अहिलेसम्मको भौतिक प्रगति करिब ३६ प्रतिशत पुगेको छ । द्रुतमार्गको कुल लम्बाइमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भई काम शुरु भइसकेको छ । खोकना क्षेत्रको समस्या समाधान हुन नसक्दा २०८३ साल चैतमा आयोजनाको काम सम्पन्न हुनेमा शंका पैदा भएको छ ।
खोकनाको विवाद समाधान गर्न दुई वर्षअघि नै रक्षामन्त्रीको नेतृत्वमा समिति गठन भएपनि निष्कर्षमा पुग्न सकिएको छैन ।
द्रुतमार्ग निर्माण भई सञ्चालनमा आएपछि खोकनाका जातीय तथा सांस्कृतिक सम्पदा नष्ट हुने, खोकना गाउँ नै विस्थापित हुने भन्दै खोकनाबासीले सो क्षेत्र भएर द्रुतमार्ग निर्माणको विरोध गर्दै आएका छन् । तर खोकना क्षेत्रमा ‘एलाइन्मेन्ट’ नै परिवर्तन गरिएकाले द्रुतमार्ग निर्माणले खोकनाको सिकाली मन्दिरलगायतका सम्पदामा कुनै असर नगर्ने आयोजनाले जनाएको छ।
यो क्षेत्रको विवादका कारण द्रुतमार्गको खोकना–बुङमती खण्डमा २११ रोपनी जग्गा अझै अधिग्रहण गर्न बाँकी छ । यो आयोजनाको सुरु लागत अनुमान १ खर्ब ७५ अर्ब रहेकोमा संशोधन गरेर अहिले २ खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुर्याइएको छ । अहिलेसम्म यस आयोजना अन्तर्गत ६० अर्ब ४४ करोड रुपियाँ खर्च भइसकेको छ ।



