गुल्मी – दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पतालको सुविधासम्पन्न नयाँ भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयदेखि निर्माणाधीन भवनको काममा ढिलाइ भएपछि सर्वसाधारण तथा सरोकारवालामा निराशा बढेको छ । यसैबीच, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले गुल्मी अस्पताल भवन निर्माणको ठेक्का तोड्न निर्देशन दिएका छन् । साउन २४ गते आइतबार गुल्मी पुगेका मन्त्री लम्सालले पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढ्न निर्देशन दिएका हुन् ।

मन्त्री लम्सालले अस्पताल भवन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सम्झौताअनुसारको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई अब थप समय दिन नहुने धारणा राखेका छन् ।अस्पताल भवनको स्थलगत निरीक्षणका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि, अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेलगायत सरोकारवालाको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा भवन निर्माणमा केही प्राविधिक कमजोरीसमेत देखिएका छन् ।

विशेषगरी सम्झौताअनुसार फ्लोरिङको काम गुणस्तरीय नभएको तथा २० जना अट्ने क्षमताको लिफ्ट राख्नुपर्नेमा ८ जना क्षमताको लिफ्ट राखिएको पाइएको छ । यस्ता कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको छ । सम्झौताअनुसारका सम्पूर्ण काम गुणस्तरीय रूपमा सम्पन्न गरी आगामी भदौ ३१ गतेभित्र भवन हस्तान्तरण गर्ने गरी म्याद थपिएको छ ।

गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई काम सुरु भएको थियो । २०८० असार १७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थप हुँदै आएको छ । भवन निर्माणको जिम्मा स्वच्छन्द–बानियाँ जेभी, हेटौंडा, मकवानपुर ले लिएको हो । पाँच तले भवन निर्माणका लागि २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ लागत रहेको छ । भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत परियोजनाका लागि रकम उपलब्ध गराइएको हो ।

हालसम्म भवन निर्माणको भौतिक प्रगति ९२ प्रतिशतभन्दा बढी पुगेको बताइएको छ । नयाँ भवनमा आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षका लागि छुट्टाछुट्टै व्यवस्था गरिनेछ ।
गुल्मी अस्पताललाई २०७१ सालमै ५० शय्यामा स्तरोन्नति गरिए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन । नयाँ भवन निर्माण सम्पन्न भएपछि जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने र उपचारका लागि बाहिरी जिल्लामा जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय