काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन नसकेको बताउनु भएको छ । काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधान विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर लडेका गोरखालीलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताउनु भएको हो ।
दाहालले गोरखालीहरुले ब्रिटिश राज्यको हीतको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेपनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरुलाई तलव, सेवा सुविधा, पेन्सनलगायतका विषयमा समान व्यवहार नभएकोले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम सरकारले गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार गम्भीर भएर अभिभावकत्व प्रदान गर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोरखा सैनिकको मुद्दाका विषयमा गम्भीर रुपमा प्रश्न उठाउने गरेको बताउनु भयो । नेपाल—भारत—बेलायतबीच भएको त्रिपक्षिय सन्धीमा गोरखा सैनिकमाथि २ सय ८ वर्षदेखि समान व्यवहार नभएको भन्दै समान कामको समान ज्याला दिलाउने प्रयास भइरहेको बताउनु भयो ।



प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको उल्लेख गर्नुभयो ।



