नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका–६ कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ । श्रेष्ठले पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९४० अनुसार पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्नुभएको हो । साथै उहाँले आफ्ना सम्पूर्ण अधिकारहरू पनि कार्यवाहक अध्यक्षलाई प्रत्यायोजन गरेको समेत पत्रमा उल्लेख गर्नुभएको छ ।



यो निर्णयसँगै पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बन्दै गएको छ। पोखरास्थित लिचीघारी क्षेत्रको सरकारी जग्गा हडप्न बिचौलियासँग मिलेर घुसको डिल प्रकरणमा मुछिएपछि श्रेष्ठमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ । भ्वाइस टेस्ट र बयान लिने कामसमेत अख्तियारले गरिसकेको छ। यसबारेमा पार्टीले पनि जवाफ मागेको थियो । बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिँदै केन्द्रीय समिति बैठक आह्वानको माग गरेका थिए। बैठक नबोलाए ११ गते दिउँसो २ बजे वैकल्पिक बैठक बसेर थप निर्णय गर्ने चेतावनीसमेत दिइएको थियो। श्रेष्ठले निर्धारित समयसीमा भित्र बैठक नबोलाएर कार्यवाहक अध्यक्ष नियुक्त गरेर विधानको सुविधा प्रयोग गर्नुभएको हो । यता, आजै बहुमत केन्द्रीय सदस्यहरूको छुट्टै बैठक आह्वान गरिएको छ।



