काठमाडौं । चन्द्रगिरि नगरपालिकाका असिष्टेन्ट सव –इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रगिरि नगरपालिका वडा नम्वर १४ नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव– इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पन्तलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सतुंगलको एक खाजा घरबाट गत असोज १५ गते नियन्त्रणमा लिइएको थियो । अख्तियारले गरेको अनुसन्धानको क्रममा पन्तले भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस लिएकाले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएको र पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो पच्चीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय हुने मागदावी लिई आइतबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।






