काठमाडौं – चन्द्रागिरिका दिनेश परियारले ‘आवर न्यूज क्रिउ डटकम’लाई धम्की दिएका छन् । परियारले लामो समयदेखि आफूलाई ‘आवर न्यूज क्रिउ’को कर्मचारी तथा पत्रकारका रूपमा परिचय दिँदै आएको संस्थाको दाबी छ। तर, उनी यस संस्थाका आधिकारिक पत्रकार वा कर्मचारी नभएको र उनीसँग संस्थाको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै ‘आवर न्यूज क्रिउ’ले समाचार प्रकाशित गरेको थियो। (प्रकाशित समाचारका लागि यहाँ क्लिक गर्नुहोस्।)
उक्त समाचार प्रकाशित भएपछि परियारले संस्थाका प्रतिनिधिलाई फोन गरेको र फोन नउठेपछि फेसबुक म्यासेन्जरमार्फत समाचारको तस्बिर पठाउँदै आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेकाछन् । म्यासेन्जरमा उनले ‘यो के हो रञ्जीतजीरु अगाडि आएर कुरा गर्ने, यस्ता मुसा जस्तो कुरा होइन’ लगायतका शब्द प्रयोग गरेकाछन् । उक्त अभिव्यक्तिलाई संस्थाले धम्कीपूर्ण व्यवहारका रूपमा लिएको छ।



‘आवर न्यूज क्रिउ’ले पत्रकारिताको नाममा आफ्नो पहिचान दुरुपयोग गर्ने तथा आफूलाई पत्रकार भन्दै हिँड्ने व्यक्तिहरूबाट सचेत रहन सबैलाई आग्रह गरेको छ। संस्थाका अनुसार पत्रकारिताको आधारभूत मापदण्ड र जिम्मेवारीप्रति गम्भीर नभई केवल पत्रकारको परिचय बोकेर हिँड्ने प्रवृत्तिले पत्रकारिता क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठाउने गरेको छ।
यसैबीच, परियारबाट आएको भनिएको धम्कीपूर्ण सन्देश, प्रयोग गरिएका शब्द तथा सम्बन्धित प्रमाणहरूबारे नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश, चन्द्रागिरि नगरपालिका तथा नगरपालिकाअन्तर्गतका विभिन्न वडा कार्यालयहरूलाई जानकारी गराउने तयारी गरिएको संस्थाले जनाएको छ।
त्यस्तै, विभिन्न गैरसरकारी संस्था (एनजीओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा अन्य सरोकारवाला निकायहरूलाई पनि पत्रकारको परिचय दुरुपयोग गर्ने व्यक्तिहरूसँग कारोबार, विज्ञापन, शुभकामना तथा अन्य व्यावसायिक सहकार्य गर्दा आवश्यक सावधानी अपनाउन संस्थाले अनुरोध गरेको छ। संस्थाले पत्रकारिता पेसाको मर्यादा, विश्वसनीयता र आचारसंहिता कायम राख्न सम्बन्धित निकायले यस्ता विषयमा आवश्यक छानबिन तथा निगरानी गर्नुपर्नेमा जोड दिएको छ।



