काठमाडौं । चन्द्रागिरि वडा नं. २ स्थित प्रहरी प्रभाग नागढुंगाले नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । वडाका जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको कार्यक्रममा प्रभागका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले प्रहरी मेरो साथी नाराका साथ अघि बढीरहेको बताउनुभयो । उहाँले आफू र आफ्नो टीमले चाडवाड, विभिन्न समयमा शान्ति सुरक्षाका लागि सदैव लागिरहेको बताउनुभयो । उहाँले शान्ति सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. २ का कार्यबाहक वडा अध्यक्ष लवराम गिरीले प्रहरी कार्यालयलाई गर्नुपर्ने सहयोग निरन्तर रहने बताउनु भयो । उहाँले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कार्यालयमा भएको क्षति पुनर्निर्माणका लागि वडा र नगरबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । यसैगरी वडा नं. २ का भाइकृष्ण तामाङ र वडा सदस्य चन्द्र कुमारी गिरी बस्नेत (अनिता) ले प्रहरीको असल काममा सहयोग र खराब कामलाई खबरदारी गर्ने चेतावनी दिनुभयो



यसैगरी, प्रहरी प्रभाग बलम्बुले पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्काले समाजका लागि प्रहरी हरपल तयार रहेको बताउनुभयो ।
प्रहरी प्रभाग नागढुंगा र बलम्वुले हरेक वर्ष चाडबाडको समयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।



