काठमाडौं । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी त्रिभुवन राजपथ अन्तरगत नागढुंगा नौविसे सडक खण्डको झ्याप्ले खोलाको अनुगमन गर्नुभएको छ ।
गत शनिबार विहान गएको पहिरोले दुई वटा हाइस र एउटा बस चन्द्रागिरि नगरपालिका र धुनिबेसी नगरपालिकाको सीमानामा पर्ने झ्याप्ले खोलामा पहिरोले पुरिएपछि सडक तीन दिनदेखि अवरुद्ध भएको थियो । अनुगमनको क्रममा मेयर गिरीले नेपालीहरुको महान चाँड नजिकिदै गएको र सडक अवरुद्ध हुँदा यात्रुहरुले कष्ट भोग्नु परेकोले सडकको अवस्था बुझ्न आफु आएको बताउनु भयो । उहाँले उक्त घटनामा ३५ जनाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै उद्दार कार्यमा भएका सम्पूर्ण खर्च र व्यवस्थापन चन्द्रागिरि नगरपालिकाले गरेको जानकारी दिनुभयो । उहाँले नगरपालिकामा पनि बाढी पहिरोले मानविय तथा भौतिक संरचनामा क्षति पुगेकोले नगरपालिकाले राहतको व्यवस्था गर्ने बताउनु भयो ।



नागढुंगा प्रहरी प्रमुख प्रहरी निरिक्षक हेमकुमार थपलियाले नागढुंगा झ्याप्ले खोलामा भएको अवरोध हटाए पनि धादिङको मलेखु नजिकै परेवामा गएको सुख्खा पहिरोले यातायात आवतजावतमा समस्या भइरहेको बताउनु भयो । उहाँले बाढी पहिरोले अधिकांश सडकमा साना ठुला पहिरो गएकोले सडक विभागले पहिरो हटाउन सुरु गरेको पनि उल्लेख गर्नुभयो । उहाँले गाडी चालकलाई हतार गरेर ओभरटेक नगरी गाडी चलाउन र सुरक्षित तवरले यात्रा गर्न सुझाव दिनुभयो ।



