काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी आधारभूत सामग्री उपलब्ध गराउने भएको छ ।



चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले विपद् व्यवस्थापनको पूर्व तयारीका लागि १५ वटै वडामा आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागिएको बताउनु भएको हो । उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तय गरेका सामग्री नगरपालिकाले उपलब्ध गराउने तयारी गरेको जानकारी गराउनु भयो । अहिले नगरमा कृषिकर्म गर्ने व्यक्ति कमी हुँदा जंगलमा घास, दाउरा, पत्कर सुकेर थुप्रिएर बस्दा वनमा डढेलोको जोखिम बढ्दै गएको बताउनु भयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) को आर्थिक एवं प्राविधिक सहयोगमा नगरपालिकामा सञ्चालित स्वच्छ हावा कार्यक्रम अन्तर्गत वन डढेलोको रोकथामसम्बन्धी तालिम दिइएको छ । तालिममा मुख्यत नगरभित्र रहेका २३ वटा सामुदायिक वन उपभोक्ता समितिलाई समेटिएको छ ।
कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्ण प्रसाद खड्गी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सञ्जय सिग्देल, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, डिभिजन वन कार्यालयका वन अधिकृत अशोक पराजुली, युएसआइडीका प्रतिनिधि, वन समूहका पदाधिकारीहरु, नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।



