काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले चन्द्रागिरिवासीले आफूमाथि गरेको विश्वास, माया र लगानीको प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका–२, वाडभञ्ज्याङस्थित राधाकृष्ण मन्दिर परिसरमा सञ्चालन भइरहेको ‘पुरुषोत्तम माहात्म्य ज्ञान महायज्ञ एवं चन्द्रागिरि धार्मिक महामहोत्सव–२०८३’ मा सहभागी हुँदै उहाँले चन्द्रागिरिको विकास, धार्मिक पर्यटन प्रवद्र्धन र जनअपेक्षाअनुसारका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।

सभामुख अर्यालले चन्द्रागिरिले आफूलाई दिएको साथ, सहयोग र विश्वासलाई सधैं सम्झिरहने उल्लेख गर्दै त्यसको प्रतिफल जनताले अनुभूति गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अहिले आफू ऐन कानून बनाउने काममा व्यस्त रहेता पनि प्रधानमन्त्री बालेन शाहको काम गर्ने हुटहुटीका कारण पनि जनताको विश्वासलाई सम्मान गर्दै विकास, समृद्धि र सुशासनका लागि र चन्द्रागिरिको समग्र विकासका लागि आफू सदैव सकारात्मक रहने धारणा राख्नुभयो ।
सोही अवसरमा सभामुख अर्यालले राधाकृष्ण मन्दिर परिसरभित्र रहेका विभिन्न देवी–देवताका मन्दिरहरूको अवलोकन गर्नुभएको थियो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका ती संरचनाको निरीक्षण गर्दै उहाँले धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । मन्दिर परिसरमा उहाँलाई स्थानीयवासी, भक्तजन तथा आयोजक समितिको तर्फबाट पञ्चकन्याद्वारा स्वागत गरिएको थियो ।

सभामुख अर्यालले यस्ता धार्मिक महोत्सव र ज्ञान महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै धार्मिक चेतना, नैतिक मूल्य र सामाजिक एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले धर्म, संस्कृति र परम्पराको संरक्षण भावी पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

स्थानीयवासीहरूले पनि सभामुख अर्यालको उपस्थितिलाई चन्द्रागिरिप्रतिको चासो र प्रतिबद्धताका रूपमा लिएका छन् । कार्यक्रममा विभिन्न धार्मिक अनुष्ठान, कथा प्रवचन, भजन–कीर्तन तथा सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन भइरहेका छन्। देशका विभिन्न स्थानबाट आएका भक्तजन तथा श्रद्धालुहरूको सहभागिताले महोत्सवलाई थप भव्य र आकर्षक बनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय