काठमाडौं । चन्द्रागिरि नगरपालिका र यूएसआईडी, ईयु, वल्र्ड बैंक, यूएनओपीएस-यूएन ह्याविटबीच खुला बाटिका निर्माण गर्न लगानी गर्ने सहमति भएको छ ।
चन्द्रागिरि नगरपालिकाको कार्यपालिका भवनमा नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिसँग बसेको बैठकमा नगरप्रमुख घनश्याम गिरीले नगरले एक वडा एक उद्यान, एक वडा एक खुला स्थानको नीति लिएको, समुदाय तहदेखि योजना छनौट र कार्यान्वयनमा लैङ्गिक समानता, सबै वर्ग क्षेत्र र समुदायको सहभागीता गराइएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले स्थानीय स्वयंसेवी समीक्षा प्रतिवेदनको मस्यौदा तयार गरिसकेको, सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकता, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा समान प्राथमिकता दिँदै आएको जानकारी समेत गराउनु भयो । प्रमुख गिरीले विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै सोही अनुरुप नीति योजनामा समावेश गरी कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनु भयो ।




यस्तै युएन ह्यबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा. ओडिसा एङ्लो ब्यारियसले दिगो विकास लक्ष्यका शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर जस्ता लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासको प्रशंसा गर्नुभयो ।
यसैगरी युएसआइडीका नेपाल प्रतिनिधि डेभिड म्यानले दिगो विकास लक्ष्य हासिल गर्न सामुहिक प्रयत्नको खाँचो औल्याउँदै खुला क्षेत्र संरक्षण, निर्णय प्रक्रियामा अल्पसंख्यक, सीमान्तकृत, तथा संकटासन्न समुदायको अर्थपूर्ण सहभागिता र स्थानीय विकास प्रक्रियालाई समावेशी बनाउन सुझाव दिनुभयो ।

बैठकमा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगर प्रबक्ता कृष्णप्रसाद खड्गी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगरका विभिन्न शाखा प्रमुखहरु, युरोपियन युनियन नेपाल प्रतिनिधि इलोइजा अस्टुडुलो, संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम युएन ह्यबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा. ओडिसा एङ्लो ब्यारियस, अमेरिकी विकास नियोग युएसआइडीका नेपाल प्रतिनिधि डेभिड म्यान, संयुक्त राष्ट्र संघीय कार्यालय युएन ओपिएसका प्रतिनिधिको उपस्थिति रहेको थियो ।



