काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाले चन्द्रागिरिबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाबीच चन्द्रागिरिबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भनि सम्झौता भएको हो । सम्झौतासँगै नगरबासीलाई आवश्यक पर्दा काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका शाखाबाट निःशुल्क रगत उपलब्ध हुनेछ । रेडक्रसले विगत दुई वर्ष देखि उक्त सेवा दिंदै आइरहेको छ । नगरपालिका र रेडक्रसबीचको पहिलेको सम्झौता सकिएपछि गत सोमबार नगर कार्यपालिकाको प्रशासकीय भवनमा थप ३ वर्षको लागि सम्झौता भएको हो । विगत दुई वर्षमा सोही सम्झौताअनुसार २ सय नगरबासीले निःशुल्क रगत सुविधा प्राप्त गरेका थिए ।



चन्द्रागिरि नगरपालिका भित्र रहेका कुनै पनि सामाजिक संस्था वा समुहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम संचालन गर्दा नगरपालिकाले उक्त संस्थालाई प्रति रक्तदाता २ सय रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
यस्तै नगरपालिकाले मेट्रो रक्त संचार सेवासँग पनि नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भनि सम्झौता गरेको छ । नगरपालिकाले नगरबासीलाई आवश्यकता पर्दा नेपाल रेडक्रस र मेट्रो रक्त संचारसँग निःशुल्क रगत सुविधा लिन सकिने बताएका छ ।



