काठमाडौं । चन्द्रगिरि नरपालिका वडा नं. ४ ले तीज कार्यक्रम नगर्ने भएको छ । वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले नगरपालिकाको चाँडबाँड शीर्षक अन्तरगत हरितालिका तीज पनि रहेको नगरपालिकाले हरेक वडालाई बजेट विनियोजन गरेपनि आफुले वडामा दर कार्यक्रम नगर्ने बताउनु भएको हो ।
उहाँले तीज कार्यक्रममा अनावश्यक खर्च हुने रकमलाई वडाका गरिव, विपन्न, अशाहायका लागि खर्च गर्ने र अन्य कार्यक्रम गरी समाजमा हुने गरेको विकृति अन्त्यका लागि काम गर्ने दाबी गर्नुभयो । अध्यक्ष खड्गीले आवर न्यूज क्रिउसँगको कुराकानीमा गत सालमा पनि आफ्नो वडाले तीज कार्यक्रम नगरेको र यो वर्षमा पनि तीजको कार्यक्रम नगर्ने बताउनु भयो ।



अहिले तीजमा दर खाने कार्यक्रमको विषयलाई लिएर सामाजिक संजाल तातेको छ । दर खानकै लागि नगरपालिकाले यो वर्ष एउटा वडालाई दुई लाखको दरले बजेट छुट्टाएको छ । सामाजिक संजालमा दर खाएर मनाएको तस्बिर पनि उत्तिकै छ्यापछ्याप्ती देखिन्छ । त्यससँगै यसको विरोध पनि उत्तिकै देखिन्छ ।
चन्द्रागिरि नगरपालिकाले महिलाहरुको तीज दरखाने कार्यक्रमको लागि ३० लाख छुट्याएको भन्दै नगरभर विरोध भइरहेको छ । कोही भन्छन् भ्रष्टाचार भयो, कोही भन्छन् सरकारी पैसाले राजनीति गर्न खोजियो, कोही भन्छन्, राज्यको सम्पत्ति कार्यकर्तालाई खुवाउन बाँडियो भन्दै सामाजिक संजाल तातेको छ ।
दर खानका लागि छुट्याएको लाखौं रुपैयाँ विकासका कार्य, विपन्न र अशाहायका लागी काम गर्न नगर र वडालाई नगरबासीले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालयले पनि तीज पर्व तडक भडक नगर्न आग्रह गरेको छ ।




