काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बालश्रम मुक्त वडा घोषणा भएको छ । शनिबार विहान वडा कार्यालयको क्षेत्रबाट सुरुभएको अभियान विभिन्न स्थान हुँदै बोसीगाउँमा पुगेर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको थियो ।



बालश्रम मुक्त वडा घोषणाको क्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरलाई बालश्रम मुक्त बनाउनको लागि १५ वटै वडालाई छिट्टै बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँले बालबालिकाका लागि नगरपालिकाले कक्षा १२ पास भएपछि सिधै काम गर्ने वातावरण तयार नगरपालिकाले गरिरहेको जानकारी गराउनु भयो । उहाँले नगरपालिकाले जीवन उपयोगी शिक्षा पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयन तर्फ लागि परेको र सोही अनुरुप शैक्षिक प्रमाणपत्र र शीप मुलक प्रमाणपत्र विद्यार्थीहरुले सँगसँगै प्राप्त गर्ने गरी सिकाई भइरहेको बताउनु भयो । प्रमुख गिरीले देशमा बेरोजगारी बढ्ने क्रम बढ्दै गएको र युवा पुस्ता विदेशी रहने अवस्था रहेको हुँदा नगरपालिका पनि त्यसमा अछुतो नभएको भन्दै युवापुस्तालाई आफै स्वरोजगार हुने वातावरण नगरपालिकाले तयार गर्दै गएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा भएकोमा वडाबासीलाई धन्यवाद दिनुभयो । उहाँले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्दै गर्दा अबका दिनमा वडामा कुनै पनि बालबालिकाले काम गरेको भेटिन नहुने हुँदा बालश्रम मुक्त वडा घोषणा भएसँगै थप चुनौति थपिएको बताउनु भयो ।

यस्तै चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बालश्रम मुक्त वडा पहिलो खुड्किलो भएका बताउनु भयो । उहाँले बालश्रम मुक्त वडा घोषणा भनेको अन्त्य नभई सुरुवात भएकोले नगरपालिकालाई २०८२ सालमा बालमैत्री नगरपालिका घोषणा गर्नको लागि पहिलो खुड्किलो भएको उल्लेख गर्नुभयो । उहाँले बालश्रम मुक्त वडा घोषणा गरेसँगै अब निरन्तर अनुगमनको आवश्यक रहेकोले नगर र वडाले मात्र सम्भव नहुँदा सबै पक्ष जागरुक हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिवकुमार महर्जनले वडालाई बालश्रम मुक्त वडा बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । उहाँले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न विभिन्न चरण पार गर्दै आज यो अवस्थामा पुगेको बताउनु भयो । बालश्रम मुक्त वडा घोषणा भएसँगै वडाले अबका दिनमा वडा भित्र रहेका विभिन्न संघसंस्था, उद्योग, कलकारखाना, पसलहरुमा अनुगमन गर्ने र नगरपालिका, वडाहरुमा उठेका प्रश्नको न्यूनिकरण गर्न तर्फ आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु अब उद्योग मैत्री, ज्येष्ठ नागरिक मैत्री, महिला मैत्री, बालमैत्री वडा बनाउनको लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।




