काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका–११ ले वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको छ । शनिबार विशेष कार्यक्रमका बीच बालश्रम मुक्त प्रमाणपत्रमा सामुहिक हस्ताक्षर गर्दै वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।




बालश्रम मुक्त वडा घोषणा समारोहमा वडा बालअधिकार समितिको संयोजन र वल्र्ड भिजनको सहकार्यमा भएको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले नगरका १५ वटा वडा मध्ये ७ वटा वडा बालश्रम मुक्त वडा भइसकेको र छिट्टै नै नगरपालिकालाई नै बालश्रम मुक्त नगर बनाउने बताउनु भयो । उहाँले नगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमका लागि बजेट साथै कार्यक्रम तय भएको पनि जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा गर्नु कुनै ठूलो कुरा नभएको भन्दै कार्यान्वनको पाटोमा चुनौति देखिएको बताउनु भयो । उहाँले वडालाई बालश्रम मुक्त वडा घोषणा गरिए पनि कतिपय वडामा लुकी छिपी बालबालिकालाई श्रम गराएको सुन्नमा आएकोले त्यसो नगर्न नगरबासीलाई आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्रराज श्रेष्ठले बालबालिकाको संविधान पद्धत हक अधिकारको सुनिश्चित गर्दै वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको बताउनु भयो । उहाँले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्नको लागि सहयोग गरेका विभिन्न संघसंस्था, व्यक्तिहरुलाई धन्यवाद दिनुभयो ।






