काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित वनदेवी जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा स्थापना गरिएको अक्षय कोष दाताहरूको निरन्तर सहयोगले थप सुदृढ बन्दै गएको छ । जेष्ठ नागरिकको सेवा र हेरचाहलाई दीर्घकालीन रूपमा निरन्तरता दिने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा विभिन्न सामाजिक मन भएका व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।

केन्द्रका अनुसार सुरुवाती चरणमा विभिन्न सहयोगी मनहरूबाट ५५ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भइ कोष स्थापना गरिएको हो । यससँगै स्थानीय समाजसेवी दम्पत्ति सरोज पौडेल र कमला ज्ञवाली (पूजा) ले गत असोज ५ गते ५१ हजार १ सय ५५ रुपैयाँ सहयोग गर्दै अक्षय कोषको आधार १ लाख ५० हजारभन्दा बढी बनाएको केन्द्रका अध्यक्ष केशव केसीले जानकारी दिनुभएको छ ।

यस्तै, यही यही फागुन ४ गते समाजसेवी दम्पती गोविन्द कार्की र जमुना कार्कीले संयुक्त रूपमा ५० हजार २ सय रुपैयाँ अक्षय कोषमा जम्मा गर्नुभएको छ । उहाँहरूको उक्त सहयोगले जेष्ठ नागरिकको दैनिक सेवा, स्वास्थ्य हेरचाह र सामाजिक गतिविधि सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने केन्द्रले जनाएको छ ।

केन्द्र व्यवस्थापन समितिले अक्षय कोषलाई संस्थाको दीर्घकालीन आधारका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गरेको छ । साथै, समाजका अन्य सहयोगी मनहरूलाई पनि जेष्ठ नागरिकको सेवामा हातेमालो गर्न आग्रह गरिएको छ ।

बनदेवी जेष्ठ नागरिक दिवा सेवा केन्द्रले जेष्ठ नागरिकको सम्मानजनक जीवनयापन, दैनिक हेरचाह तथा सामाजिक सहभागिता बढाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय