काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि १ सय ५० जना गणकहरू आजदेखि कार्य क्षेत्रमा उत्रिएका छन् ।
निकुञ्जले आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले पहिलो भागअन्तर्गत यस क्षेत्रमा २ सय ८६ वटा ग्रिड बनाएर गणना थालिएको जानकारी दिनुभयो ।



चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको जानकारी दिनुभयो ।
एउटा भागमा दुई हप्ता क्यामेरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ ।
बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । बाघ गणना गर्न तीन महिना लाग्ने जनाइएको छ । हरेक चार÷चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । गणनाका लागि निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू सहभागी छन् ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । सो गणनामा चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।
बाघ गणना भएपछि गैँडा गणना गरिने छ ।



