काठमाडौं – अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको गैरप्यारोल अवधि तोकेपछि उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्ने भएको छ।

अदालतमा प्रस्तुत प्रमाणअनुसार म्याग्वायरले सन् २०१३ देखि २०१५ सम्म सांसद पदमा रहँदा १० जना चिनियाँ नागरिकलाई अस्ट्रेलियाको भिसा दिलाउन झुटो रोजगारी विवरण तयार पार्ने योजनामा सहयोग गरेका थिए। उनले न्यु साउथ वेल्सको रिभरिना क्षेत्रका विभिन्न व्यवसायीसँग सम्पर्क गरी चिनियाँ नागरिकलाई रोजगारी दिने प्रायोजन मिलाउने व्यवसाय खोज्न सहयोग गरेको सुनुवाइका क्रममा खुलेको थियो। ती व्यवसायले वास्तविक रूपमा रोजगारी दिने योजना नभए पनि भिसा आवेदनमा चिनियाँ नागरिकलाई कर्मचारीका रूपमा देखाउने व्यवस्था गरिएको थियो। यसबापत व्यवसायीहरूलाई नगद रकमसमेत दिइएको अदालतमा प्रस्तुत प्रमाणले देखाएको थियो।

न्यायाधीश इयान बोर्कले म्याग्वायरले उक्त योजनाको निर्माण तथा कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको ठहर गरेका छन्। म्याग्वायर सन् १९९९ देखि २०१८ सम्म करिब २० वर्ष वागा वागा क्षेत्रबाट न्यु साउथ वेल्स संसदमा प्रतिनिधित्व गरेका थिए। उनी लिबरल पार्टीका सांसद हुनुका साथै सरकार र प्रतिपक्ष दुवै समयमा संसदीय सचेतकको जिम्मेवारीमा समेत रहेका थिए। यसअघि उनी न्यु साउथ वेल्सकी पूर्वमुख्यमन्त्री ग्लेडिस बेरेजिक्लियनसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आएका थिए। यद्यपि, प्रस्तुत भिसा प्रकरणमा बेरेजिक्लियनको संलग्नता रहेको आरोप लगाइएको छैन। फैसलापछि म्याग्वायरलाई अदालतबाटै हिरासतमा लिइएको छ। उनका कानुनी प्रतिनिधिले फैसलाविरुद्ध पुनरावेदन गर्ने संकेत गरेका छन्। पुनरावेदन प्रक्रिया चलिरहँदा जेलबाहिर बस्न पाउनुपर्ने उनको जमानत निवेदनसमेत अदालतले अस्वीकार गरेको छ। राजनीतिक पदमा रहँदै आप्रवासन प्रक्रियाको दुरुपयोग गर्न सहयोग गरेको ठहर भएपछि म्याग्वायरको मुद्दा अस्ट्रेलियामा राजनीतिक पदाधिकारीको जवाफदेहिता र भिसा प्रणालीको दुरुपयोगसम्बन्धी चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय