भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भने पनि अहिलेसम्म चिनी भित्रिएको छैन । नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय रहेको र मूल्य उच्च राखेर नेपाललाई उपलब्ध गराउने बुझेपछि चिनी खरिदको प्रक्रिया रोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।



नेपालले सिफारिस गरेभन्दा फरक खालको र मूल्य बढी राखेर चिनीको मूल्य निर्धारण गरेपछि चिनीको खरिद प्रक्रिया रोकिएको हो । नेपालले माग गरेको ३२–३३ साइजको चिनी भारतले उपलब्ध नगराई ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएपछि तत्काल ल्याउने प्रक्रिया रोकिएको मन्त्रालयको भनाइ छ । कम गुणस्तरको चिनी धुलो खालको हुनुभएको र यो चिनी खानको लागि उपयुक्त नहुने उहाँको भनाइ छ । नेपालमा अहिले एक लाख ५० हजार टन चिनी उत्पादन हुने गरेको छ भने माग तीन लाख टन हुने गरेको छ । अपुग चिनी बाहिरबाट नै ल्याउनुपर्ने बाध्यता छ ।



