१९औं एसियाली खेलकुद एसियाड को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आज रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो । चीनका लागि रोइङमा जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सतर्फ स्वर्ण जितेकी हुन । उज्वेकिस्तानले रजत र इन्डोनेसियाले कांस्य जितेका छन ।
यसैगरी नेपालले एसियाड सुटिङको पहिलो खेलमा खराव प्रदर्शन गरेको छ । सुटिङको १० मिटर महिला एयर राइपलमा श्लेसा भण्डारी र सुस्मिता नेपाल ४७औं र ५८औं स्थानमा रहेका हुन । नेपाल इस्पोर्ट्अन्तर्गत इ–फुटबलमा मकाउसँग हार खेपेको छ ।



नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २–१ ले पराजित भएका हुन ।नेपालकी तेक्वान्दो खेलाडी स्वस्तिका तामाङ महिला पुम्सेको अन्तिम १६ को खेलमा सिङ्गापुरकी खेलाडीसँग पराजित भएकी छिन । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसँग क्वार्टरफाइनलमा पराजित भए । त्यस्तै जुडोमा नेपालकी खेलाडी देवकी श्रेष्ठ मङ्गोलियाकी खेलाडी र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित भइन ।
यस्तै पहिलो दिन टेबलटेनिसमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । नेपाल टेबल टेनिसको टिम स्पर्धामा समूह चरणबाट बाहिरिएको छ । टिम स्पर्धामा नेपालको महिला र पुरुष दुवै टोली बाहिरिएको हो । समूह एफमा रहेको नेपालको महिला टोली भारतसित ३–० र पुरुष टोली उत्तर कोरियासँग समान ३–० ले पराजित भयो । टेनिस खेलाडी प्रदिप खड्का दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पुरुष एकलतर्फ पहिलो चरणमा उनले टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराए । प्रदिपले ६–०, ६–० को सोझो सेटमा मेन्डिसलाई हराएका हुन । पौडीमा नेपाली खेलाडी अलेक्जेन्डर गाडेगार्ड शाह हिट चरणमै रोकिएका छन । १०० मिटर फ्रिस्टायलमा अलेक्जेन्डर हिट चरणबाट बाहिरिएका हुन् ।



