नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो साता हुने भएको छ । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले विधान सम्मेलन फागुन १, २ र ३ गते गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड पनि तय गरेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ ।



बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताए । दाहालले विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएको प्रवक्ता शर्माले जानकारी दिए ।बैठकमा प्रधानमन्त्री दाहालले कुटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी पनि गरेका थिए । माओवादीको स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बस्ने जनाइएको छ ।



