काठमाडौं । सामुदायिक शिक्षा र सामाजिक उत्तरदायित्वको चर्चा धेरै हुने भएपनि व्यवहारमा त्यसलाई संस्थागत रूप दिन सक्ने उदाहरण कमै भेटिन्छन् । चन्द्रागिरि नगरपालिका–१५ मा भने केही वर्षअघि दुई जना जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट थालेको सानो पहल आज आर्थिक अभावबाट उच्च शिक्षा छोड्न बाध्य हुने विद्यार्थीहरूको भविष्य निर्माण गर्ने अभियानका रूपमा विकसित भएको छ ।
वडा अध्यक्ष शैक्षिक विकास कोषले शैक्षिक सत्र २०८३-०८४ का लागि एसईई उत्तीर्ण २४ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । कोषले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक शुल्क र स्टेशनरी खर्च व्यहोर्ने जनाएको छ ।



कार्यक्रममा संस्थापक संरक्षक तथा पूर्व वडा अध्यक्ष उत्तमबहादुर राउतले छात्रवृत्तिलाई केवल आर्थिक सहयोगको रूपमा नभई समाजप्रतिको जिम्मेवारी र अवसरको समान पहुँच सुनिश्चित गर्ने माध्यमको रुपमा लिन आग्रह गर्नुभयो । उहाँले शिक्षा व्यक्तिको मात्र नभई समाज रूपान्तरणको मुख्य आधार भएकोले छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न सुझाव दिनुभयो ।
यस्तै कोषाध्यक्ष मोहनहरी आचार्यले संस्थाको सुरुवात २०७४ सालमा निर्वाचित तत्कालीन वडा अध्यक्ष उत्तमबहादुर राउत र वडा सदस्य माधवकुमार केसीले आफ्नो पारिश्रमिक जम्मा गरेर सुरुवात गरेको यो अभियानले गरिव, विपन्न र जेहेनदार विद्यार्थीहरुको भविष्य कोर्नको लागि पुलको काम गरेको बताउनु भयो । उहाँले कोषमा दैनिक एक रुपैयाँ योगदान गर्ने सर्वसाधारणदेखि देश–विदेशमा रहनुभएका व्यक्ति तथा आजीवन सदस्यहरूको सहयोगमा वडा अध्यक्ष शैक्षिक विकास कोष संचालन भइरहेको जानकारी दिनुभयो ।
शिक्षा छोड्न बाध्य हुने यथार्थबीच आशाको किरण

नेपालमा आधारभूत तह पार गरेपछि आर्थिक, पारिवारिक तथा सामाजिक कारणले हजारौँ विद्यार्थी उच्च शिक्षाबाट बाहिरिने यथार्थ अझै कायमै छ । विशेष गरी निम्न आय भएका परिवारका विद्यार्थीका लागि एसईई उत्तीर्ण गर्नु अन्तिम शैक्षिक उपलब्धि बन्ने अवस्था धेरै ठाउँमा देखिन्छ ।
यही पृष्ठभूमिमा चन्द्रागिरिमा संचालित यो अभियानले एउटा महत्वपूर्ण सन्देश दिएको छ, शिक्षा केवल सरकारको दायित्व मात्र होइन, समुदायको साझा जिम्मेवारी पनि हो । जब समाजका सदस्यहरू स–साना योगदानमार्फत शिक्षामा लगानी गर्छन्, त्यसको प्रत्यक्ष प्रभाव भविष्यका पुस्तामा देखिन थाल्छ ।
सरकारी अनुदान वा बाह्य सहयोगबिना संचालन भइरहेको कोषले छात्रवृत्ति कार्यक्रमसँगै प्रत्येक वर्ष नगरस्तरीय वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना गर्दै आएको छ । यसले शैक्षिक उपलब्धिसँगै सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकासमा पनि योगदान पुर्याइरहेको छ ।
सामुदायिक विद्यालयलाई बलियो बनाउने प्रयास
कोषले यसअघि विभिन्न १३ वटा उच्च माध्यमिक विद्यालयसँग सहकार्य गर्दै आएको भएपनि हाल सामुदायिक विद्यालयमा मात्र छात्रवृत्ति उपलब्ध गराउने नीति लिएको छ । यस निर्णयलाई सामुदायिक शिक्षाको गुणस्तर सुधार र सार्वजनिक विद्यालयप्रति विश्वास बढाउने प्रयासका रूपमा हेरिएको छ ।
नेपालमा निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका बीच सामुदायिक विद्यालयहरू विद्यार्थी संख्या घट्दै जाने चुनौतीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा छात्रवृत्ति कार्यक्रमलाई सामुदायिक विद्यालय सुदृढीकरणको अभियानसँग जोडिनु सकारात्मक पक्ष मानिन्छ ।
दान संस्कृतिबाट सामाजिक रूपान्तरणतर्फ

कोषले हालसम्म ८० जना विद्यार्थीलाई माध्यमिक तहसम्म र १३२ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गरिसकेको छ । आगामी वर्षदेखि विद्यालय छोडेका युवाका लागि छोटो अवधिका व्यावसायिक तथा उद्यमशीलता तालिम संचालन गर्ने तयारी पनि भइरहेको छ ।
यो पहलले समाज परिवर्तनका लागि ठूलो बजेटभन्दा ठूलो सोच आवश्यक हुने सन्देश दिएको छ । एक रुपैयाँ दैनिक योगदानबाट सुरु भएको अभियानले आज दर्जनौं विद्यार्थीको शैक्षिक यात्रा निरन्तर बनाइरहेको छ । यस्तो उदाहरणले राज्यको पहुँच कमजोर भएका क्षेत्रमा समुदाय आफैं समाधानको स्रोत बन्न सक्छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ ।
शिक्षामा लगानी भनेको केवल एक विद्यार्थीको भविष्य निर्माण गर्नु मात्र होइन, असमानता घटाउने, गरिबीको चक्र तोड्ने र जिम्मेवार नागरिक उत्पादन गर्ने दीर्घकालीन सामाजिक लगानी हो । चन्द्रागिरिमा देखिएको यो अभ्यास त्यसैको एउटा प्रेरणादायी र यथार्थपरक उदाहरण बनेको छ ।



