जापानको दक्षिणी भागमा पर्ने टोकारा टापुहरूमा पछिल्ला दुई सातादेखि भूकम्पीय गतिविधि तीव्र भएको छ। सरकारी अधिकारीहरूका अनुसार, जुन २१ यता ९०० भन्दा धेरै साना तथा मध्यम भूकम्पहरू मापन गरिएको छ, जसले स्थानीय बासिन्दामा गहिरो त्रास फैलाएको छ। बुधवार आएको ५.५ म्याग्निट्यूडको भूकम्पले क्षेत्रको संवेदनशीलता झनै उजागर गरेको छ। हालसम्म कुनै ठूलो क्षति वा सुनामीको चेतावनी नभए तापनि, अधिकारीहरूले आपतकालीन तयारीका लागि जनतालाई सचेत रहन आग्रह गरेका छन्।

स्थानीय अनुभवस् डर र थकानको अवस्था
टोकाराका बासिन्दाहरूले दैनिकरूपमा भूकम्प महसुस गरिरहेको बताएका छन्। ५४ वर्षीया चिजुको आरिकावाले भनिन्, “भूकम्प आउनुअगाडि समुद्रबाट अनौठो गर्जन सुनिन्छ, विशेष गरी रातको समयमा। निकै डर लाग्दो अनुभव हो।”स्थानीय बासिन्दा इसामु साकामोतोका अनुसार, “अब त केही नहुँदा पनि जमिन हल्लिएको जस्तो लाग्छ। मुनिबाट धक्का आएजस्तो कम्पन हुन्छ र घरहरू हल्लिन्छन्। यो निकै त्रासपूर्ण अवस्था हो।”

कतिपय गाउँहरूमा मानिसहरू अनिद्राको समस्या र मानसिक थकावटको सामना गरिरहेका छन्। टोशिमा गाउँका अधिकारीहरूले भनेका छन्, “बासिन्दाहरू थकित छन्, कृपया सञ्चारमाध्यमहरूले अति प्रश्न नगरी ध्यान दिनुहोस्।” यो अनुरोध गाउँको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

भौगोलिक जोखिम र तयारी
टोकारा टापुहरूमा करिब ७०० जना मानिस बसोबास गर्छन्, र तीमध्ये केही विकट टापुहरूमा आधारभूत स्वास्थ्य सेवा पनि छैन। सबैभन्दा नजिकको ठूलो अस्पताल कागोशिमा शहरमा रहेको छ, जुन डुङ्गाबाट कम्तीमा ६ घण्टा टाढा पर्छ। टोकारा क्षेत्र विगतमा पनि यदाकदा भूकम्पहरूबाट प्रभावित हुँदै आएको भए तापनि, हालको जस्तो निरन्तर र तीव्र गतिविधि असामान्य मानिएको छ। जापान “प्यासिफिक रिङ अफ फायर” मा पर्ने भएकाले विश्वका सबैभन्दा भूकम्प-सक्रिय देशहरूमध्ये पर्दछ, जहाँ हरेक वर्ष औसतमा १,५०० भन्दा बढी भूकम्पहरू मापन गरिन्छ।

पर्यटनमा असर र आपतकालीन व्यवस्था
भूकम्पको प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ। केही गेस्टहाउसहरूले पर्यटकहरूको बुकिङ स्थगित गरेका छन् र आपतकालीन अवस्थामा तिनलाई स्थानीयका लागि अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गरिने बताइएको छ। सरकारले यस साता प्रारम्भिक तयारीका रूपमा तटबन्ध निर्माण र उद्धार अभ्यासहरूलाई सुदृढ गर्ने नयाँ योजनाहरू घोषणा गरेको छ। यद्यपि विज्ञहरूका अनुसार, आगामी “शताब्दीको ठूलो भूकम्प” को सम्भावनालाई ध्यानमा राख्दा अझ धेरै कदम चाल्न बाँकी छ। एक प्रक्षेपण अनुसार, यस्तो विनाशकारी भूकम्पको अवस्था आउँदा तीन लाख जनासम्मको ज्यान जोखिममा पर्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय