नयाँदिल्ली –  भारतका मुख्य निर्वाचन आयुक्त (CEC) ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँदिल्लीस्थित जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रदर्शनमा आम आदमी पार्टी (AAP) का नेतादेखि विभिन्न विद्यार्थी संगठनका कार्यकर्तासम्म सहभागी भएका थिए। प्रदर्शनकारीहरूले मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (SIR) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा मागेका हुन्।

भारतको निर्वाचन आयोगले भने SIR को उद्देश्य मतदाता सूचीलाई अद्यावधिक गर्ने तथा अयोग्य र दोहोरिएका नाम पहिचान गरी हटाउने रहेको बताउँदै आएको छ। प्रहरी नियन्त्रणमा पर्नेहरूमा आम आदमी पार्टीका नेताहरू आतिशी, सौरभ भारद्वाज, सञ्जीव झा तथा राज्यसभा सांसद सञ्जय सिंहलगायत रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विभिन्न विद्यार्थी संगठनका कार्यकर्ताहरू पनि प्रदर्शनका क्रममा पक्राउ परेका छन्।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले जन्तरमन्तर आसपास सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रदर्शनस्थल आसपासका केही मेट्रो स्टेसनमा प्रवेश तथा निकास बन्द गरिएको र इन्टरनेट सेवा प्रभावित भएको रिपोर्टहरूमा उल्लेख छ। यसैबीच, ककरोच जनता पार्टी (CJP) ले पनि निर्वाचन आयोग तथा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै आन्दोलन अघि बढाएको छ। दिल्लीसँगै मुम्बईमा समेत विरोध प्रदर्शन आयोजना गरिएको बताइएको छ।

प्रदर्शनकारीहरूले निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदाता नामावलीसम्बन्धी विषयमा प्रश्न उठाउँदै आएका छन् भने निर्वाचन आयोगले आफ्नो पुनरावलोकन प्रक्रियाको उद्देश्य मतदाता सूचीलाई थप शुद्ध र अद्यावधिक बनाउनु रहेको बताउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय