काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली र एचपी ग्यासको वितरण सुरु गरिएको छ। बजारमा ग्यासको उपलब्धता सहज बनाउन तथा उपभोक्तालाई राहत दिने उद्देश्यले नगरपालिकाको समन्वयमा ग्यास वितरण थालिएको हो। नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनका अनुसार ग्यास वितरण बिहान ११ बजेदेखि सुरु भएको हो। वितरण कार्य साँझ ५ बजेसम्म निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।
ग्यास लिन आउने उपभोक्तालाई सहज रूपमा सेवा उपलब्ध गराउने गरी वितरणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। पछिल्लो समय ग्यासको उपलब्धता तथा वितरणलाई लिएर उपभोक्ताले समस्या भोग्नुपरेको अवस्थामा नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी ग्यास उपलब्ध गराएको हो। नगर प्रमुख महर्जनले उपभोक्तालाई आवश्यक कागजात तथा विवरणसहित वितरणस्थलमा उपस्थित भएर ग्यास लिन आग्रह गर्नुभएको छ। वितरणका क्रममा अनावश्यक भीडभाड नगर्न र व्यवस्थापनमा सहयोग गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ।



नगरपालिकाका अनुसार नेपाली र एचपी ग्यासको वितरण साँझ ५ बजेसम्म जारी रहने भएकाले तत्काल ग्यास आवश्यक भएका उपभोक्ताले तोकिएको समयमा वितरणस्थलमा पुगेर सेवा लिन सक्नेछन्। ग्यास वितरणको अवस्थालाई नगरपालिकाले प्रत्यक्ष रूपमा अनुगमन गरिरहेको जनाएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक समन्वय तथा व्यवस्थापनलाई निरन्तरता दिने नगरपालिकाको भनाइ छ।



