तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खोलिएको छ । भगवान् श्री पशुपतिनाथको मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीलाई एकदेखि डेढ घण्टाभित्र दर्शन गराउन बाहिर चारवटा र भित्र आठवटा लाइनको व्यवस्था मिलाइएको छ ।



पहिलो लाइन गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो, मित्रपार्क-जयबागेश्वरी-पाँचगणेश-भीमसेनस्थान-भूवनेश्वरी-शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
तेस्रो लाइन पिंगलास्थान-चारशिवालय-पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मन्दिर दर्शनका लागि कुनैपनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।



