सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । बैठकले मधेश प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
सरकार र प्रदेश सरकारका बीचमा आवश्यक पर्ने समन्वय गर्न सरल र सहज होस् भन्ने उद्देश्यसहित प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई बनाउन लागिएको सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।



त्यस्तै मन्त्रिपरिषद्ले राजनीतिक समिति, आर्थिक पूर्वाधार समिति, विधेयक समिति, प्रशासन समिति, सामाजिक समिति पनि गठन गरेको छ । बैठकले राजनीतिक समितिको समवन्य गर्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल, आर्थिक पूर्वाधार समितिको उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिको जिम्मेवारी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिको उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई दिएको छ ।



