काठमाडौं — भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेर १० दिनपछि जीवितै उद्धार गरिएका कबिर महर्जनलाई भेट्न प्रदीप बिष्ट कीर्तिपुरस्थित उहाँको निवास पुगेका छन्।अस्पतालमा उपचारपछि हिजो डिस्चार्ज भएर घर फर्किएका महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिष्ट आज उहाँको निजी निवास पुगेका हुन्। भेटका क्रममा बिष्टले महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा कार्यरत केही कर्मचारी तथा प्राविधिक सम्पर्कविहीन भएका थिए। खोज तथा उद्धारका क्रममा १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त टोलीले सुरुङबाट कबिर महर्जन र सप्तरीका सञ्जय साहलाई जीवितै उद्धार गरेको थियो।महर्जन आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। नियमित मर्मतसम्भारका लागि आयोजनामा पुगेका बेला बाढी आएपछि उनी सुरुङभित्र फसेका थिए। उद्धार टोलीले सुरुङको पहुँच मार्ग हुँदै महर्जन र साहलाई बाहिर निकालेको थियो।



उद्धारपछि दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनीहरूको उपचार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गरिएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि महर्जनलाई हिजो अस्पतालबाट डिस्चार्ज गरिएको हो।सुरुङभित्र फसेका कर्मचारीको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन भएका थिए। सुरुङभित्र पानी र लेदो पसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।
लामो प्रयासपछि सुरुङबाट दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि उनीहरूका परिवार र आफन्तमा राहत मिलेको थियो। महर्जन घर फर्किएपछि उनको स्वास्थ्य अवस्था बुझ्न बिष्टले निवासमै पुगेर भेट गरेका हुन्। भेटका क्रममा बिष्टले विपद्का कारण प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूको अवस्थाप्रति चासो व्यक्त गर्दै महर्जनको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।



